अपडेट: बाढी-पहिरोबाट अहिलेसम्म ७८ जनाको मृत्यु, ३२ जना बेपत्ता
काठमाडौँ - यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ७८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका अनुसार विपद्का कारण ३२ जिल्ला बढी प्रभावित भई हालसम्म ७८ जनाको मृत्यु भएको, ३२ जना बेपत्ता भएका, ४० जना घाइते भएका र १७ हजार ४ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।
त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् ।
यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् ।
उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ । आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडाँैबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०-४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ ।
यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन÷तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ ।
इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ । घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस