कन्चनपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसकेको बताएका छन् । सभामुख चयनबारे मंगलबार बिहान कञ्चनपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन ।’

उनले अगाडि थपे, ‘पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’ उनले सभामुख चयनमा नेताहरुबीच सहमति भइसकेको हुनसक्ने बताए ।

आइतबार बहुमतको आधारमा पास भएको सूचना प्रविधि विधेयकको विरोधको प्रसंगमा जवाफ दिँदै प्रवक्ता बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले विधेयकको विरोध गरिरहेको धारणा राखे । ‘नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर पर्दैन, बरु थप सुरक्षा हुन्छ,’ उनले भने ।