पोखरा - शुक्रवार दिउँसो होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा रहेकाे मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।  केही समयदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो । 

उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारका क्रममा (आइसियु) मा भर्ना भएका थापा मगरको आज दिउँसो ३ बजे मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । 

खगेन्द्रको मृत्युबारे जानकारी दिइएपनि अन्य कुरा भने खुलाइएको छैन । यसबारे थप रिपोर्ट अस्पतालले चाँडै दिने बताएको छ ।  खगेन्द्रलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । 

उनको शरिरमा हेमोग्लोबिनको कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए । बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर  ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

उनको उचाई ५७ सेन्टिमिटर रहेको छ । थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो ।  गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण  छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका  थिए भने हाल वजन ५.५ किलोग्राम रहेको छ ।