काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आजको बैठकमा सहमति जुटेसँगै एकता भएको १४ महिनापछि नेकपाको एकताले पुर्णता पाएको हो ।

आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई सहयोगी नेतासहितको अध्यक्षद्वयको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभाजनमा सहमति जुटेको हो ।

एकताको बाँकी काम टुंगो लगाउन अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र इश्वर पोखरेलसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले पनि नेताहरुबीच बिवाद नहोस भनेर परामर्श गर्नुभएको थियो । सवै नेताको सुझावअनुसार आज ओली र प्रचण्ड सहमतिमा पुगेका हुन् ।

आजको बैठकमा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासमेत सहभागी हुनुभएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीचको सहमति सचिवालय बैठकबाट पारित भएपछि औपचारिकता पाउने छ । 

सचिवालयबाट भएको निर्णय केही समयपछि नै स्थायी समिति बैठक र केन्द्रीय कमिटी बैठकमा पेश गरिने छ । नेकपाका महासचिव पौडेलले दुई अध्यक्षबीच सबै विषयमा साझा धारणा बनिसकेकोले अब सचिवालय बैठक बसेर अन्तिम निर्णय हुने जानकारी दिए।

पौडेलका अनुसार कार्यबिभाजन केन्द्रीय निकाय, बिभाग, बिशेष कमिटीलगायतका पार्टी एकताका सबै काम सकिएको छ । यसअघि नै राजनीतिक प्रतिवेदन प्रकाशनका लागि पठाइ सकिएको छ । बालुवाटारको बैठकअगावै अध्यक्ष प्रचण्डले आज एकताको बाँकी सवै काम सकाउने घोषणा गरेका थिए। नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो घोषणा गरका हुन् ।

‘हामी दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं ।’ केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म आधारभुत रुपमा सवै काम सकाउने बताए ।