काठमाडौं - नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आइपुगेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदले बुधबार नेपाली समकक्षी भण्डारीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । शितल निवासमा अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म हुने शिष्टाचार भेटमा आपसी हितका विषयमा छलफल हुने छ ।

भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा नेपाली समकक्षीले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन् ।रात्रिभोजअघि बुधबार अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति हमिद बिहीबार हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम पनि छ । परराष्ट्रका अनुसार राष्ट्रपति हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् ।