तीन वषभित्र सबै नेपालीको घर घरमा बिजुली बल्छ : उर्जामन्त्री पुन
चितवन - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।
मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताए । उनले ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिए। उनले भने, ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’
कार्यक्रममा उनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताए । उनले भने, ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’ सबै स्थानमा डेढमिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको उनको भनाइ थियो ।
कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उनले यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको बताए । मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको बताए । मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस