गोरखा - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग राजीनामाको विकल्प नभएको बताएका छन् । उनले तुम्बाहाम्फेलाई यथासिघ्र राजीनामा दिएर सभामुख निर्वाचनको ढोका खोल्न पनि आग्रह गरे ।

बुधबार गृहजिल्ला गोरखामा सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा उनले भने, ‘सभामुखको उम्मेद्वार बन्नका लागि उपसभामुख पदबाट राजीनामा निश्चित हो ।संविधानको मर्मलाई कानूनको विद्यार्थीसमेत हुनु भएको उपसभामुखले यो कुरा बुझ्नु भएको छ ।’

राजीनामा नदिए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भने, ‘उहाँले राजीनामा नदिए के गर्ने भन्ने कल्पना पनि हामीले गरेका छैनौं । त्यसैले उहाँले राजीनामा दिनैपर्छ र दिनुहुन्छ पनि ।’

मुलुकमा परेको राजनीतिक गाँठो फुकाउन शिवमायाको राजीनामा आउनु पर्ने उनको तर्क थियो ।

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार समेत रहेका श्रेष्ठले एमसीसी र सभामुख नियुक्ति विल्कुलै फरक कुरा भएकाले परस्पर सम्बन्ध नरहेको जिकिर गरे । ‘एमसीसी र सभामुखको निर्वाचनलाई जोड्नुको कुनै तुक छैन’, उनले भने, ‘एमसीसीको बारेमा पार्टीको स्थायी कमिटीको बैठकले राष्ट्रिय हित र वस्तुगत यथार्थलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिन्छ।’

एमसीसीबारे के गर्ने भन्नेसम्बन्धमा पार्टीभित्र छलफल जारी रहेको उनले जानकारी दिए । ‘पार्टीको सचिवालयले यस बारेमा राम्ररी बुझेर आवश्यक निर्णय गरोस् भनेर स्थायी समितिले निर्णय गरेको छ’, उनले भने, ‘पार्टीको सचिवालयले यसबारेमा छलफल गरेर निर्णय लिनेछ ।’