आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो
रौतहट - हत्या आरोपमा पक्राउ परेको अभियुक्त मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको आलमको बयान सुरु भएको हो । बयानको लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।
२०६४ चैत २७ गते राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको र विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको आरोपमा उनी असोज २६ गते पक्राउ परेका थिए ।
कांग्रेस नेता आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरिसकेको छ । सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार मंगलबार अदालतमा पेश गरिएको मिसिलको नक्कलप्रति आलमको पक्ष–विपक्षमा बहस गर्ने वकिलहरुलाई वितरण गर्ने र आलमसँग बयान लिने काम हुने छ ।
प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको छ । मिसिल धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने हुँदा थुनछेक बहस सुरु हुन पनि केही दिन लाग्ने अनुमान छ ।
पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा। युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।
उक्त घटनामा संलग्न भएको आरोपमा आलमसहित त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितक दर्जन भन्दा बढी व्यक्तिलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको छ ।
सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस