हेटौंडा - प्रदेश ३ को सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी(नेकपा)ले सहमतिमै प्रदेशको नाम र राजधानी टुंगो लगाउने प्रक्रियाको थालनी गरेको छ । प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सहमती जनाएको छ ।

नेकपाले पार्टी भित्र सहमति जुटाएपछि अन्य पार्टीसँग पनि छलफलको काम अगाडि बढाएको हो । नेकपा संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार सर्वदलिय बैठक बोलाएर प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपाको निर्णयलाई समर्थन गर्न अनुरोध गरेका छन् ।

उता कांग्रेले पनि प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती राख्ने पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउने बताएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नाम र राजधानीको विषयमा सांसदहरुलाई ह्वीप लगाउने जानकारी दिएका हुन् ।

प्रदेशसभामा एक सिट रहेको राप्रपा र राप्रपा संयुक्तले पनि सत्तारुढ दललाई साथ दिएको छ । राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङले नाम वाग्मती र राजधानी हेटौंडाको पक्षमा मतदान दिने जानकारी दिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले निर्णय शनिबार जानकारी गराउने बताएका छन् ।

विवेकशील नेपाली दलका रमेश पौंडेलले राजधानी काभ्रेमा राख्ने पार्टीको निर्णय रहेको बताए । ‘काभ्रेमा नै पार्टीको निर्णय भइसकेको छ, नयाँ निर्णय भइनसकेकाले अहिलेलाई काभ्रेकै पक्षमा छौं’ उनले भने । नाम वाग्मती राख्ने विषयमा भने आफूहरु सहमत रहेको बताए ।

साझा पार्टीकी शोभा शाक्यले नाममा सहमत भए पनि राजधानीको विषयमा सहमत हुन नसकेको बताइन् । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानीमा सर्वसमत भएमा राम्रो सन्देश जाने भएकाले तयारी स्वरुप सर्वदलीय बैठक बोलाएको बताए ।