काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लगातार संसद बैठक स्थगित भएपछि आपत्ति प्रकट गरेका छन् ।

सभामुखको विषयमा सहमति जुट्न नसक्दा आइतबार दिउँसो १ बजेको लागि बोलाइएको संघीय संसद बैठक सूचना टाँसेर स्ठगित भएपछि भट्टराईले एक ट्वीट सन्देशमार्फत रोष प्रकट गरेका हुन् । भट्टराईले नेकपाको कारण जनप्रतिनिधि मुकदर्शक हुन बाध्य भएको पनि उल्लेख गरेका छन्।

नेकपाभित्रको खिचातानीका कारण प्रतिनिधिसभा पङ्गु र निष्काम भएको उनले आरोप लगाएका छन् ।  ‘हिजो दलीय खिचातानिले संसद बन्धक बन्दा अन्तरिम काल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,’   उनले ट्वीटमा लेखेका छन्, ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु, निष्काम हुने र बैठक सरिरहने ?’

भट्टराईले अगाडि प्रश्न गरेका छन्,  ‘जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र? अझै कम्युनिज्म ? धन्य कणहरू ?’