काठमाडौं -  गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान रमिसा श्रेष्ठले दिएको जाहेरी दर्तासँगै अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ गर्न प्रहरीले अनुमति पाएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न अनुमति पत्र दिएको हो । 

काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाे छ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेकाे एसएसपी सुवेदीले बताए ।

राउतले आफ्नो सामाजिक सञ्जाल फेसबकुमार्फत बुधबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको, गाली गरेको  भन्दै भिडियो सन्देश जारी गरेकी थिइन् ।