काठमाडौं - सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकासमन्त्रीसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कब्जा गरेर कब्जा नहुने बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन् । ‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन,’ बाँस्कोटाले भने, ‘त्यो जग्गा नेपाली जनता र सरकारको जग्गा हो, सरकारले छानबिन गरिरहेको छ ।’

उनले विप्लव समूहका हिंसात्मक गतिविधि सह्या नहुने पनि बताए । ‘सरकारले टावरमा आगजनी गर्नु भनेको छैन । जनताको सम्पतिमा आक्रमण गरिएको छ । सरकार यस विषयमा सहनशील हुनै सक्दैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ’ बाँस्कोटाले भने ।

उनले नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको प्रसंगमा रावल नेकपाकै नेता रहेको र सरकार पनि नेकपाकै रहेको भन्दै सुरक्षामा कुनै प्रकारको खतरा नरहेको दावी गरेका छन् ।