काठमाडौं - बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका योजनाकार शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । नागार्जुन नगरपालिका ढुंगेधारानजिकै रहेको उनको घरको गेटमा बुधबार साँझ बम विस्फोट भएको हो ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको काठमाडौं परिसरका डिएसपी होबीन्द्र बोगटीले बताए । विस्फोटबाट घरको गेटमा क्षति पुगेको छ भने झ्यालका सिसा फुटेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

घटनाको जिम्मा नेकपा विप्लव समूहले लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा ‘सेवोटेज’ गरिएको विप्लव समूहको पर्चामा उल्लेख छ ।