काठमाडौं - भारत सरकारले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँस्थित भारतीय दूतावास नजिक लैनचौरमा विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका छन् । 

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा भारतले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा समेत विरोध जुलुससमेत निकालेका थिए ।

उता भारतीय विदेश मन्त्रालयले भने नक्सामा नेपालको भूभाग परेको दावीको खण्डन गरेको छ ।  विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको बताएका छन् । 

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा  देखाइएपछि नेपालमा मोदी सरकारको व्यापक विरोध भएको छ । उनको ठाउँठाउँमा पुत्ला दहन कार्यहरु समेत भएका छन् ।