हेटौँडा - प्रदेश ३ को स्थायी राजधानीका लागि मकवानपुरको हेटौँडा र काभ्रेपलाञ्चोकको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएको छ । प्रदेश राजधानीको स्थान र नामाकरणका लागि प्रस्ताव माग गरिएकोमा प्रदेश सभा सचिवालयमा शनिबार हेटौँडा र धुलिखेलको प्रस्ताव दर्ता भएको हो ।

यस्तै, प्रदेशको नामाकरणका लागि एकल प्रस्ताव बागमती दर्ता भएको छ । नेपाली काँग्रेसले प्रदेशको नामाकरणका लागि गरेको प्रस्तावमा एक मात्र प्रस्ताव परेको हो ।

प्रदेशको स्थायी राजधानीका हेटौँडाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेर दर्ता गरिएको प्रस्तावको समर्थकहरुमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङ रहेकी छन् । 

यस्तै, विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेल राजधानीका लागि प्रस्ताव दर्ता गरिएको छ । प्रदेश ३ को बागमती नामाकरणका लागि काँग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक रहेको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

प्रदेशको नाम बागमती नामाकरण गर्न गरिएको प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक रहेका छन् । 

यसैगरी, प्रदेश सभाका नेकपाको सभामुखसहित ८० जना, काँग्रेसको २२ जना, विभाजन पूर्वको विवेकशील साझा पार्टीको तीन, राप्रपा र राप्रपा संयुक्तको एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् । नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक प्रदेश सभाका सदस्य छन् । 

प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्तावमा शनिबार नै दिउँसो १ बजेबाट छलफल गर्ने कार्यतालिका रहेको छ । प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावमाथि मत विभाजनबाट निर्णय गर्ने गरी प्रदेश सभामा निर्णयार्थ आइतबार पेस गरिने भएको छ । आइतबार विहान ९ वजे मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ ।