जनकपुर - धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको विभत्स हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको नदीमै टिपरले किचेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका हुन् ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले बताएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोको हत्यापछि स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।