‘एमसीसीमा प्रधानमन्त्रीको अहंकार देखियो’
काठमाडौं - नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार साँझ भएको भेलामा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताका विषयमा पनि छलफल भएको थियो । ‘एमसीसीबारे प्रधानमन्त्री र केही मन्त्रीको अहंकारपूर्ण अभिव्यक्ति आयो । कम्तीमा छलफल त गर्न पाउनुपर्यो नि,’ भेलामा सहभागी एक नेताले भने, ‘पार्टीमा उठेका कुरा राम्रोसँग सम्बोधन नगरी एमसीसी सम्झौता पारित गराएर छाड्छौं भन्नु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण अभिव्यक्ति नभएकाले स्पष्ट धारणा आउनुपर्छ भन्ने सन्देश दिन पनि हामी जुटेका हौं ।’
सुरुवाती भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । भेलाको अन्त्यतिर एमसीसीबारे छलफल हुँदा स्थायी समिति सदस्य भीम रावललाई पनि बोलाइएको थियो । रावलले आफू उक्त बैठकमा सहभागी नभएको दाबी गरे पनि स्रोतले उनी छलफलको अन्त्यतिर गौतम निवास भैंसेपाटी पुगेको उल्लेख गर्यो ।
प्रधानमन्त्रीनिकट एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्वयं अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा सहमत छैनन् । ‘एमसीसीको सहयोग अमेरिकाको सैन्य रणनीतिअन्तर्गतको हो भनेर अमेरिकाले भन्यो भने हाम्रा लागि ५५ अर्ब कुनै ठूलो कुरा होइन, सम्झौता रद्द हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘हामी इन्डो–प्यासिफिक रणनीति आउनुभन्दा अघि नै सम्झौता गरिएको एमसीसीलाई मात्रै चिन्छौं ।’ स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद्मा पेस गर्दा सँगै एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको नभएको र नेपाल कुनै पनि सैन्य रणनीतिअन्तर्गत रहन नसक्ने गरी संकल्प प्रस्ताव ल्याउन सकिने विकल्प तयार पारेका छन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस