‘मिसन जागरण’ अभियान सुरु गर्दै एमाले, केन्द्रीय सदस्यलाई स्थानीय तहसम्म खटाउने
काठमाडौं - नेकपा एमालेले आगामी स्थानीय र प्रदेश तहका निर्वाचनमा पार्टीको संगठन सुदृढ गर्दै सफल नतिजा हासिल गर्ने लक्ष्यसहित ‘मिसन जागरण’ अभियान अघि सारेको छ ।
पार्टीले केन्द्रीय सदस्यहरूलाई विस्तृत कार्ययोजना सहित जिम्मेवारी बाँडफाँट गर्दै देशभर परिचालन गर्ने तयारी गरेको छ।
३१ पृष्ठको अवधारणापत्रमा गत निर्वाचनको समीक्षा, हारका कारण, संगठनात्मक कमजोरी तथा जनस्तरमा देखिएको असन्तुष्टिको विस्तृत विश्लेषण गरिएको छ।
पार्टीले विशेष गरी २०७४ को निर्वाचनपछि बनेको राजनीतिक परिस्थितिबाट सुरु भएको परिवर्तन र त्यसपछि भएको नेकपा विघटन तथा एमाले विभाजनले जनतामा निराशा बढाएको निष्कर्ष निकालेको छ।
दस्तावेजमा वाम गठबन्धन र नेकपा गठनपछि उत्साहित जनमत पार्टी विभाजनपछि क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको उल्लेख गरिएको छ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई अस्थिर राजनीतिक अवस्था र भूराजनीतिक प्रभावको परिणामका रूपमा व्याख्या गरिएको छ।
एमालेले पार्टी र नेतृत्वले गरेका काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा पनि चुनावी नतिजामा असर परेको निष्कर्ष निकालेको छ। दस्तावेजमा पछिल्ला राजनीतिक घटनाक्रमलाई समेत जोड्दै संगठनात्मक कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार ‘मिसन जागरण’ को उद्देश्य नेताहरूलाई राजनीतिक पृष्ठभूमि, चुनावी पराजयका कारण र भावी रणनीतिबारे स्पष्ट बनाउँदै मातहत तहसम्म एकरूप सन्देश प्रवाह गर्नु हो।
उनका अनुसार दस्तावेजमा डिजिटल प्रचार, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ जस्ता आधुनिक प्रचार रणनीतिमा ध्यान दिनुपर्ने विषयहरू समावेश छन्। पार्टीले संगठनात्मक गतिविधिलाई डिजिटल रूपमा पनि सुदृढ बनाउने योजना अघि सारेको छ।
साथै, जनतासँग सम्बन्ध सुधार गर्न एमालेले ‘६ ज’ नीति अघि सारेको छ—जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गरौं भन्ने अवधारणा समेटिएको छ।
अभियानअन्तर्गत सबै केन्द्रीय सदस्यलाई पालिका स्तरको जिम्मेवारी तोकिएको छ। जिम्मेवारी पाएका नेताहरूले स्थलगत रूपमा जनतासँग संवाद गर्ने, संगठन विस्तार गर्ने र स्थानीय अवस्था मूल्यांकन गर्ने व्यवस्था गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस