रेशम चौधरी छिट्टै छुट्ने अध्यक्ष ‘प्रचण्ड’को दाबी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् ।
बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले झूटा मुद्दामा फसेकालाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै टीकापुर घटनामा दोषी ठहर भएर जेल चलान भएका चौधरीलाई छुटाएरै छाड्ने बताएका हुन् ।
‘टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ’ उनले भने, ‘केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरुलाई पनि केही समयमा छुटाइन्छ ।’
यस्तै, प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको भनेर लगाइएको आरोप झूट रहेको र त्यसो भन्नु न्यायपूर्ण नहुने तर्क पनि गरेका छन् ।
‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन,’ उनले भने, ‘सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन ।’ द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस