काठमाडौं - प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको उम्मेदवारको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र अग्नि सापकोटा उम्मेदवार बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखमा सापकोटालाई अगाडि बढाउने सहमति भएको हो ।

सत्तारुढ दलभित्र सभामुखका उम्मेदवारलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमतिसँगै सो विवाद टुंगिएको बताइएको छ । सहमतिपश्चात् सापकोटाको नामलाई नेकपाको आज बस्न गइरहेको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी समेत सुरु भएको छ ।

सभामुखको उम्मेदवारका विषयमा सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक लामो समयदेखि प्रभावित हुँदै आएको थियो । पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सुचना टाँस गरेर स्थगित गरिएको थियो । अर्को बैठक पुस ६ गते सोमबारलाई बोलाइएको छ ।

सहमतिपश्चात् माघ ६ गते बस्ने बैठकले सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेछ । सोमबार प्रतिनिधिसभा बैठक बोलाइएका कारण सभामुखको उम्मेदवार आजै टुंग्याउनुपर्ने दबाब सत्तारुढ नेकपालाई रहेको थियो । सभामुख चयनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सभामुख चयनकै विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच केही समय संवाद समेत हुन सकिरहेको थिएन । करिब पाँच दिन लामो संवाहीनताको अन्त्य गत बिहीबार भएको थियो । त्यसपछि अध्यक्षद्वयबीच यस विषयमा लगातार छलफल चलिरहेको थियो । अध्यक्षद्वयबीच सभामुखको उम्मेदवारका लागि सुवास नेम्वाङ वा अग्नि सापकोटामध्ये कसलाई चयन गर्ने विषयमा नियमित छलफल भए पनि निश्कर्ष निस्किन सकेको थिएन । 

संवैधानिक प्रावधानका कारण सत्तारुढ नेकपाले सभामुख पदमा उम्मेदवारी दिनका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउनुपर्ने अवस्था थियो । यद्यपि उपसभामुख तुम्बाहाम्फेले भने आफू सभामुख पदको लागि अयोग्य नरहेको भन्दै पदबाट राजीनामा नदिने बताउँदै आएकी थिइन् । पछिल्लो समय भने उनले सभामुख पदको उम्मेदवारको नाम टुंगिनेबित्तिकै राजीनामा दिने अभिव्यक्ति दिएकी थिइन् ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपश्चात् सभामुख पद खाली भएको थियो । सभामुखका लागि नेम्वाङ,सापकोटा, देव गुरुङ र पम्पा भुसाल लगायतको नाम चर्चामा थियो ।