काठमाडौं - नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबारलाई सरेको छ । जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस विहीबार नसिकए पछि शुक्रबारका लागि सरेको हो ।

आलमलाई २०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग लागेको छ । उनीमाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । उक्त मुद्दाहरुमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस सुरु गरेका थिए ।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा। युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा। कुमार शर्मा आचार्यले बहस गरिरहेका छन् ।

त्यस्तै, प्रतिवादी आलमको पक्षबाट बहस वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण)ले गर्दैछन् ।

अदालतले सोधेको ५१ वटा प्रश्नहरुको सामना आलमले गरिसकेका छन् । आलमले अदालतमा इन्कारी बयान दिइरहेका छन् ।