द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसबीच जुट्यो सहमति,आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी
काठमाडौं - सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कानुन निर्माण र आयोगका पदाधिकारी नियुक्तिका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको हाे ।
छलफलमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, सुवासचन्द्र नेम्वाङ, रमेश लेखक, मिनेन्द्र रिजाल र खिमलाल देवकोटालगायतको सहभागिता थियो ।
बैठकमा सहभागी नेता खिमलाल देवकोटाले ऐन संशोधनलाई कानुन मन्त्रालयबाट अघि बढाएर चाँडै संसदमा पेश गर्ने र सिफारिस समितिले सिफारिस गरेका नाम स्वीकृत गर्ने सहमति भएको बताए ।
‘आजको छलफलबाट एउटा टुंगोमा पुग्ने सहमति भएको छ’ उनले भने, ‘सातै प्रदेशबाट प्राप्त सुझाबलाई समेटेर कानुन मन्त्रालयले विधेयक अगाडि बढाउने र हिउँदे अधिवेशनबाटै त्यसलाई पास गरेर अगाडि बढ्ने सहमति भएको छ ।’
स्रोतका अनुसार दुई आयोगमा आजै नाम सिफारिस हुने भएको छ । आजै सिफारिस समितिको बैठक बसिरहेको र सिफारिस समितिले ल्याएका नाममा सहमति गरेर अगाडि जाने सहमति भएको हाे ।
पटकपटक अवधि थप्दासमेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारीविहीन भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस