काठमाडौं - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ठेक्का होल्ड गरेर राख्ने तर समयमा काम सम्पन्न नगर्ने  निमार्ण व्यवसायीलाई कालो सूचीमा राखिने बताएका छन् ।

शनिबार गुल्मी क्षेत्र नं १ मा लामो समयदेखि अलपत्र अवस्थामा रहेका विभिन्न योजनाको अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । निर्माण व्यवसायीको लापरबाहीले गर्दा कतिपय विकास योजनाहरु अलपत्र पर्ने गरेको उनको भनाइ छ ।

केही योजनाहरुमा निर्माण व्यवसायीहरुले प्राविधिक कारण देखाएर लामो समयदेखि योजना सम्पन्न नगरिकन आलटाल गर्ने काम भैरहेको भन्दै ज्ञवालीले अब कुनै पनि बहानामा त्यस्ता व्यवसायीहरुलाई छुट नहुने बताए । समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई अब कालो सूचीमा राखेर कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।निर्माण व्यवसायीहरुले देश र जनताको हितलाई ध्यानमा राखेर काम गर्नसमेत मन्त्री ज्ञवालीले आग्रह गरे ।

ज्ञवालीले गुल्मी क्षेत्र नम्बर १ मा अलपत्र अवस्थामा रहेका सत्यवती गाउँपालिका अन्तर्गत उल्ली खोलाको पक्की पुल, रुरुक्षेत्र गाउँपालिका अन्तरगतका पुल, रुद्रवेणी–वामीटक्सार सडक, सिस्ने खोलाको पुल र चोरकाटे लगायतका स्थानमा रहेका पक्की पुल र सडकको अनुगमन गरेका थिए ।

सो अवसरमा ज्ञवालीले अलपत्र अवस्थामा रहेका योजनाहरु समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रियाहरु अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन समेत दिए ।