काठमाडौं-भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर पुगेका छन् ।

इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे ।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दौर मेरियटमा रहनेछन् ।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । आजै प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।