काठमाडौं - रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

बुधबार विजयका बाबु पनिलालले जिल्ला सरकारी वकिलको कार्यालयमा यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका हुन् ।

गत साउन ३२ गते गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको आरोपमा विजयरामलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा विजयरामको मृत्यु भएको थियो । हिरासतमा हत्या स्वीकार गर्न विजयरामलाई चरम यातना दिएको उनको परिवारको आरोप छ ।