काठमाडौं, एजेन्सी - फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसकेकोमा माफी मागेका छन् ।

युुरोकप अन्तर्गत स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए । एमबाप्पेको प्रहार स्वीस गोलकिपर यान सोमेरले बचाए ।

एमबाप्पे गोल गर्न चुकेपछि फ्रान्स पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक युरोमा एमबाप्पेले एक गोल पनि गर्न सकेनन् ।

उनले आफूले टिमलाई सहयोग गर्न चाहेको तर सफल नभएको बताए । ‘म त्यो पेनाल्टीको बारेमा माफी चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थे तर असफल भए । फ्यानहरुलाई निराश बनाएका छौं । तर तपाईंहरुको समर्थन र हामीप्रति देखाएको विश्वासका लागि धन्यवाद ।’ एमबाप्पेले भने । 

उनले राति राम्ररी सुत्न नसकेकोसमेत बताए । ‘त्यसपछि मलाई सुत्न धेरै गार्हो भयो । दुर्भाग्यवश यो खेलको उतार चढाव हो । जुन म धेरै माया गर्दछु ।’ एमबाप्पेले यसअघि भने । 

उनले स्विस टोलीलाई बधाई समेत दिएका छन् ।