काठमाडौं - नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरी खेलेको हो । 

खेलको पाँचौ मिनेटमा नै पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । २३औं मिनेटमा जुआन कोर्डाडाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे तर अग्रता कायम रहन भने सकेन । खेलको ५१औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै उडिनेसलाई खेलमा फर्काउने संकेत गरे । ८३औं मिनेटमा उडिनेसका जेरार्ड डिलोफिउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । 

खेलको इन्जुरी समयमा सब्सिच्युट क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा युभेन्ट्स अंक बाँड्न पुग्यो । बराबरीबाट सिजनको सुरुवात गरेको युभेन्ट्सले पहिलो खेलमा १ अंक जोडेको छ भने उडिनेसको पनि एक अंक छ ।