काठमाडौं - आज (सोमबार) देखि दुई दिनसम्म वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार खासगरी रातिदेखि एक–दुई दिनलाई वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको हो।

उनका अनुसार केही दिनयता खासै वर्षा नहुँदा तथा दिनभर घाम लाग्दा देशभर गर्मी महसुस भएको थियो। ‘अब आज रातिबाट एक–दुई दिन वर्षा बढ्ने सम्भावना रहेकाले गर्मीमा राहत हुने देखिएको छ,’ उनले भने।

मौसमविद् पौडेलका अनुसार अहिले पानी पार्ने मौसमी प्रणाली पूर्वमा छ र यो बिस्तारै पश्चिम सर्ने क्रममा छ।

‘ताप्लेजुङ, धनकुटा, विराटनगर क्षेत्रमा बिहानदेखि हल्का वर्षा भइरहेको छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ। यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र१६गते(मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ 

भाद्र१७गते(वुधबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।