काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका  लागि आज मतदान हुँदैछ। निर्वाचन समितिले बिहान ८ बजेदेखि मतदान सुरु हुने बताए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।

मतदाताहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश देखिएका छन्। मतपत्र छाप्न ढिला हुँदा सममै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

अहिले मतदातासँग उम्मेदवारहरु मत माग्न व्यस्त छन्। प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पार्टीको सभापति पदमा ५ जनाले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन्। यसअघि, सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिई  शेखर कोइराला प्यानललाई सहयोग गर्दैछन् । आज हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ। 

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।