मुम्बईमा चारतल्ले भवन भत्कियो, १२ जनाको मृत्यु, १५ परिवार पुरिएको आशंका
एजेन्सी – भारतको मुम्बईको दक्षिणी भागमा रहेको चारतल्ले भवन भत्किँदा १२ जनाको मृत्यु भएको छ ।
भग्नावशेषमा १५ परिवार पुरिएको आशंका छ । उद्धारकर्मीहरूले एक सानो बालकसहित पाँचजनालाई भग्नावशेषबाट बाहिर निकालेका छन् । बालक बाँचेको छ र उसलाई अस्पताल पुर्याइएको छ । अन्य घाइतेलाई पनि अस्पताल पठाइएको छ ।
टंडेल मार्गमा रहेको केशरबाई बिल्डिङ बिहान ११ बजेर ४० मिनेटमा भत्केको थियो । भवनमा बस्ने ५० जना जति पुरिएको आशंका छ । उद्धार जारी छ ।
साँघुरो गल्लीमा भवन भएकाले उद्धारकार्यमा समस्या आएको छ । दशभन्दा बढी एम्बुलेन्स घटनास्थलमा उपस्थित छन् । उक्त भवन ८० देखि १०० वर्ष पुरानो भएको स्थानीयले बताए । निकै चर्को आवाजका साथ भवन लडेको स्थानीयले बताए । भवन नजिकका अन्य भवन खाली गराइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस