विराटनगर - विराटनगरका दुई जना कोरोना सक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार राती उनीहरुको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया बृद्धाको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पताल आईसोलेशन केन्द्रका संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिए ।

ज्वरो,झडा पखला र श्वासप्रश्वासमा कठिन भएपछि उनलाई शुक्रबार ३ बजे अस्पताल भर्ना गरिएको थियो । राती ८ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृत्यु भएपछि प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी कोरोना संक्रमित अर्की एक जना महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताए । संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रिफर गरेको थियो ।

महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा सापकोटाले बताए। स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रिफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।

यससँगै कोरोनाबाट महानगरमा १४ जनाको मृत्यु भएको छ भने विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार १७० पुगेको छ ।