काठमाडौं - कोभिड–१९ महाव्याधि नियन्त्रणमा आउन चारदेखि पाँच वर्ष लाग्न सक्ने एक वरिष्ठ स्वास्थ्यविद्ले बताएकी छन् । 

तर भाइरस नियन्त्रणमा लिन तथा प्रभावकारी खोप तयार हुन अझै केही समय लाग्ने भएकाले अन्य विज्ञहरूले चाहिँ महाव्याधि अन्त्यको कुनै मिति तोक्न अस्वीकार गरेका छन् । अहिले संसारभरि लगभग ४५ लाख कोरोनाका केस पुष्टि भइसकेका छन् भने मृत्युसंख्या लगभग तीन लाख पुगेको छ । 

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले फाइनान्सियल टाइम्सको ग्लोबल बोर्डरूम डिजिटल कन्फरेन्समा कुरा गर्दै भनिन्, ‘म चारदेखि पाँच वर्षको समयअवधिमा यसलाई नियन्त्रण गर्न सकिन्छ भनी अनुमान गर्छु ।’

भाइरस मच्योर हुन्छ कि हुँदैन, यसलाई रोक्न कस्ता उपाय अपनाइन्छन् अनि खोपको विकास कति छिटो हुन्छ भन्ने कुराले त्यसमा प्रभाव पार्ने उनले बताइन् । 

अहिलेका लागि खोप नै यसको अन्त्यको सर्वोत्तम उपाय हो तर त्यसको प्रभावकारिता र सुरक्षाका विषयमा धेरै बाधा अवरोध छन् । यसको उत्पादन र समान रूपमा वितरणमा पनि समस्या छ, उनले भनिन् । 

विश्व स्वास्थ्य संगठनको तीन हप्तामा एकपटक गरिने ब्रीफिङमा डा माइक रायनले यो रोग कहिले हराउँछ भन्ने विषयमा कसैले पूर्वानुमान गर्न नसक्ने बताए । 

तर पर्याप्त निगरानी नगरिकन लकडाउन खुकुलो पार्दा मूर्दाघरमा लाश गन्नुको विकल्प नहुने उनले बताए ।