काठमाडौं - भारतकाे उत्तराखण्डकाे चमाेली जिल्लामा हिमताल फुटेर आएकाे बाढीले बाँध भत्काएपछि अहिलेसम्म नाै जनाकाे ज्यान गएकाे र दर्जनौँ बेपत्ता भएको त्यहाँकाे प्रहरीले पुष्टि गरेको छ । 

हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयाैँ गाउँबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले झण्डै डेढ सय मानिसहरू हराइरहेको हुन सक्ने बताएका छन् । हराइरहेकामध्ये अधिकांश त्यहाँकाे जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उनले ट्वीटरमा लेखेका छन्, ‘सबैको कुशलताका लागि यति बेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।’ भारतीय वायु सेनालाई उद्धारकार्यका लागि तयार राखिएको सरकारले जनाएको छ । 

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारीअनुसार हिमताल फुटेपछि आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई प्रहरीले उद्धार गरेको छ ।   

हिमताल फुटेपछि आएकाे बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएकाे छ । अहिले बन्दै गरेकाे ऋषिगङ्गा जलविद्युत् परियाेजनामा सबैभन्दा बढी क्षति पुगेकाे र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उत्तराखण्का मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पत्रकारहरूसँग कुरा गर्दै यस घटनामा अहिलेसम्म एक सय २५ जना बेपत्ता भएकाे बताए । उनले यस घटनामा ज्यान गुमाउनेका परिवारलाई चार–चार लाख भारू क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

यसका साथै मुख्यमन्त्री रावतले हिमपहिराेमा एक सय ८० भेडा–ब्राखा पनि बगेकाे र जहाँ हिमताल फुट्याे त्यहाँकाे रैणी गाउँमा अहिलेसम्म पाँच जनाकाे ज्यान गएकाे अपुष्ट जानकारी दिनुभयाे । 

उनले बाँधमा काम गर्ने स्थानीयहरू आइतवार बिदामा रहने भएकाले यस घटनामा स्थानीयहरूकाे कम हताहत भएकाे सम्भावना रहेकाे बताए। 

मुख्यमन्त्री रावतले भने, ‘अहिलेसम्म आवश्यक पर्ने स्राेत साधन उपलब्ध छ । हेलिकप्टर पर्याप्त मात्रामा छ । आवश्यक पर्दा प्रयाेग गरिनेछ । उद्धारकर्ता पनि तयारी अवस्थामा छन् ।’