काठमाडौं - सडक विभागले कोटेश्वर जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ ।

सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो। विभागले जापानी सहयोग निकाय जाइकासँगको सहकार्यमा अण्डरपासको अध्ययन गर्न अर्थमन्त्रालयसँग बजेट स्रोत सुनिश्चिता माग गरेको हो ।

जाइकाले केही समय अघि अण्डरपासको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । अर्थमन्त्रालयले बजेट सूनिश्चिता गरे विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने विभागको योजना छ ।

अर्थमन्त्रालयले अन्डरपास निर्माण गर्न आवश्यक बजेट आगामी आवमै विनियोजन गर्ने अपेक्षासहित जाइकाले डीपीआरको तयारी शुरु गरिसकेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । कोटेश्वर–जडिबुटी खण्डको अन्डरपास निर्माण कार्यलाई विभागले उच्च प्राथमिकतामा राखेको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्रको रुपमा कोटेश्वर–जडिबुटी खण्ड रहेको छ । कोटेश्वर–जडिबुटी खण्ड कलंकी पछि काठमाडौं भित्रिने मूख्य प्रवेश मार्गमध्येको एक हो । चक्रपथ, बीपी राजमार्ग, अरनिको राजमार्ग, भक्तपुर, काभ्रेका सवारीसाधन कोटेश्वर–जडिबुटी खण्ड हुँदै काठमाडौं भित्रिने र बाहिरने गर्छन् । विगत केही वर्षदेखि कोटेश्वर–जडिबुटी खण्डमा सवारी चाप धेरै छ । चोक भएकाले एउटा दिशाबाट आउने गाडीले पालो दिएपछि मात्र विपरीत दिसाका सवारी पास हुन सक्छन् ।

अण्डरपास निर्माण गर्न सकिए सवारीसाधन पालो पर्खिएर हुने जाम हट्ने विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले बताए ।प्रारम्भिक डिजाइन अनुसार अन्डरपासको लम्बाई ८ सय मिटर सम्मको हुनेछ।

जडिबुटी–कोटेश्वर तीनकुने खण्डका गाडी अन्डरपासबाट गुड्ने छन् । चक्रपथमा गुड्ने सवारी अण्डरपासको माथिबाट जानेछन् । अण्डरपास निर्माण हुँदा सवारीसाधनले विपरीत दिशाका सवारीसाधनलाई बाटो दिँदा पालो पर्खनुपर्दैन भट्टले भने, ‘अर्को गाडीलाई बाटो दिँदा रोकिनुपर्दैन ।’

कोटेश्वर–सूर्यविनायक सडक खण्ड जाइकाकै सहयोगमा निर्माण गरिएको हो । ९.१ किलोमिटर सडक खण्ड ६ लेनमा विस्तार गरिएको थियो । सडकको दुवैतर्फ सर्भिस लेन पनि निर्माण गरिएको छ तर कोटेश्वर–जडिबुटी खण्ड भने ४ लेनको मात्र छ ,यहाँ सर्भिस लेन पनि छैन ।

यो खण्डको उत्तर र दक्षिण–पूर्वतर्फ अन्तर्राष्ट्रय विमानस्थलको जमिन पर्छ । पश्चिम–दक्षिणतर्फ कोटेश्वर चोक बजार छ । तत्कालिन समयमा नागरिक उडड्यान प्राधिकरण क्यानसँग आवश्यक जग्गा लिन नसक्दा सडक ६ लेनमा विस्तार हुन सकेको थिएन। हाल भने क्यानले कोटेश्वर देखि पूर्वतर्फ जमिन सडक निर्माणका लागि स्वीकृत दिइसकेको छ ।

उक्त खण्डमा सडक डिभिजन काठमाडौंले सडक विस्तार गरिरहेको छ । करिब ८ अर्ब रुपैयाँमा टुन्डी–सुसन कन्ट्रक्सन जेभीललाई ८ करोड रुपैयाँमा ठेक्का दिइएको छ । ठेक्का लगाएर चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अण्डरपास निर्माण गर्न एयरपोर्टको कोटेश्वर चोकदेखि पश्चिमतर्फको केहि जमिन आवश्यक पर्छ । यस विषयमा विभागले क्यानका पदाधिकारीसँग छलफल गरिरहेको छ । क्यानले जमिन उपलब्ध गराएको खण्डमा मात्रै अन्डरपास निर्माण प्रक्रिया अघि बढ्नेछ ।