काठमाडौं,सुर्खेत - नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले आजै मुख्यमन्त्रीको शपथ लिने भएका छन् । मंगलबार दिउँसो  मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीले राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिने तयारी भएको हो ।  

उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन पनि गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । 

तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

माओवादी केन्द्रबाट विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका महेन्द्रबहादुर शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा कांग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न साेमबार राजीनामा दिएका थिए ।