काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट  पक्राउ गरेको थियो ।

पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । 

यसअघि विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई गत सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सो थुनामा राख्ने अवधी सकिएकाले विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो ।

यसैगरी पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।