काठमाडौं - नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत २२ साउनमा चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । अहिले पनि अधिकांश सर्वसाधारणले भौतिक दुरी पालना गरेका छैनन् भने मास्कको समेत समुचित प्रयोग गरेका छैनन् ।

सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरूको हेलचेक््रयाइँले जोखिम थप बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले बजारमा सामान किन्नका लागि सर्वसाधारणको दिनहुँ घुइँचो लाग्ने गरेको छ । बजारमा अत्यधिक भीड भए पनि न त स्वयं व्यक्ति सतर्क रहन्छन् न त स्थानीय प्रशासनले भीडलाई नियन्त्रण गर्न कुनै प्रभावकारी कदम नै चाल्न सकेको छ । 

 राजधानी दैनिकबाट