काठमाडौं - केही दिनयता देशभर भएको वर्षाका कारण काठमाडौं भित्रिने सबै राजमार्ग ठप्प भएको छ । राष्ट्रिय सडक विभागका अनुसार काठमाडौं भित्रिने सबैभन्दा ठूलो राजमार्ग मुग्लिन-नौबिसे-काठमाडौँ सडक खण्डमा करिब दुई सयभन्दा बढी पहिरो गएको छ ।

उक्त सडक खण्डमा धादिङ र चितवन जोड्ने मौवा खोलाको मुख्य पुल बाढीले बगाएको छ । यस्तै, सडक खण्डका विभिन्न भागमा पहिरो खसिरहेको उक्त सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार पानी पर्न कम भए पनि पहिरो पन्छाउन दुई दिन लाग्ने छ ।

यस्तै काठमाडौं प्रवेश गर्ने विपि राजमार्गका विभिन्न भागमा पहिरो गएको सडक विभागले जनाएको छ । सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक खण्डमा रहेको यस सडकको विभिन्न भागमा पहिरो खसेको छ । यस सडक खण्डमा कमेरेफाँट, खुर्कोट, मास्ती खोलालगायत भागमा खडक अवरुद्ध भएको हो ।

काठमाडौंसँग तराईलाई जोड्ने मुख्या सडकको रुपमा रहेको हेटौँडा-कुलेखानी सडक खण्ड पनि केही दिनदेखि बन्द भएको सडक विभागले जनाएको छ । यस सडक खण्डको विभिन्न भागमा पहिरो खसिरहेको विभागले जनाएको छ ।

वर्षा थपिए अझै केही दिन काठमाडौं जोड्ने सबै सडक खण्डहरु बन्द हुने विभागले जनाएको छ ।