मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयको अवरोध,दुई राउण्ड हवाई फायर
काठमाडौं, मकवानपुर - मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर कार्यालयतर्फ फर्किरहेको प्रहरीको टोलीमाथि स्थानीयहरूले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ । साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस