एजेन्सी - अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । सोमबार थप १२ सय ५५ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या अमेरिकामा १० हजार ८ सय ७१ पुगेको हो ।

यस्तै ३० हजार भन्दा बढी संक्रमित थपिएसँगै अमेरिकामा कुल संक्रमितको संख्या तीन लाख ६७ हजार भन्दा बढी पुगेको छ । भाइरस संक्रमणको केन्द्र बनेको न्यूयोर्कमा भने मृतकको संख्या आइतबारको तुलनामा केही बढेको छ ।

सोमबार पाँच सय ९९ जनाको मृत्यु भएको हो । संक्रमितको संख्या एक लाख ३१ हजार भन्दा बढी छ । न्यूयोर्कमा गभर्नर एन्ड्रूय कुओमोले लगातार बढ्दो क्रममा रहेको संक्रमण तथा मृत्यु सोमबार अघिल्लो दिनको हाराहारीमा रहनुले केही आश पलाएको बताएका छन् । अमेरिका कोरोना भाइरसबाट प्रभावित देशको सूचीमा पहिलो नम्बरमा छ ।