काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक/एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा मिलनका फ्रान्क केस्सी पेनाल्टीमा गोल गर्न चुके । खेलको ७८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ । मिलानले ३५ खेलमा ७२ अंक जोडेको छ ।

युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । युभेन्ट्सले ३५ खेलमा ६९ अंक जोडेको छ ।