काठमाडौं - मदिराको नसामा गाडी चलाएर बुढानिलकण्ठमा सडकपेटीमा रहेकी एक महिलालाई ठक्कर दिई ज्यान लिएका युवकलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले पुर्पक्ष थुनाका लागि पठाएका पृथ्वी मल्ललाई बुधबार न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । २०७६ मंसिर २८ गते मदिरा सेवन गरी उनले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ स्कुल गेटमा ठक्कर दिँदा गोरखा घर भई बुढानिलकण्ठमा बस्ने लीला देवकोटाको मृत्यु भएको थियो।

सामान्यतया तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गर्दै दायर भएको मुद्दामा धरौतीमा रिहा नहुने भए पनि सर्वोच्चले युवकको मानसिक अवस्था ठीक नभएको, दमको रोगी रहेको र सात महिनासम्म थुनामा बसेर न्यायिक कार्यलाई सहयोग गरेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । कोरोनाभाइरस महामारीको अवस्थामा दमको बिरामी ‘हाइ रिस्क ग्रुप’ मा रहेकोले पनि उनलाई थुनामा राख्न नपर्ने न्यायाधीशद्वयको आदेशमा भनिएको छ ।