काठमाडौं - तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । 

नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए । उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो  पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा  आयात  भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस  सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले  बताए ।  सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश  शेर्पाका अनुसार चिनियाँ  क्षेत्रमा नेपाली न्यापारीले  हजारौँ सङ्ख्यामा अक्सिजन   सिलिन्डर   ल्याउन लागेको जानकारी दिए । 

 गोरखापत्र दैनिकबाट