काठमाडौं - बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरमा ल्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले माग गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहका दुईजना अध्यक्ष र नेपाली कांग्रेसका सभापति समेतले बैतडकी १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानूनी दायरमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानी (कतोला) घर भएकी १७ वर्षीया भागरथी भट्टको बिहीबार राति बलात्कार पछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो । बुधबार (माघ २१ गते) बिद्यालय गएकी भट्ट विद्यालयबाट घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो ।

खोजीका क्रममा बिहीबार राति घरभन्दा तीन किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा बलात्कार पछि हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो ।

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले विद्यालयबाट घर फर्किँदै गरेको बेला भागरथीमाथि भएको ‘पाशविक र अमानवीय कुकृत्य’को घोर भत्र्सना समेत गरेका छन् ।

प्रचण्ड र नेपालले शनिबार एक शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘डेढ वर्ष अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई प्रमाणित गरेको छ ।’

निर्मला पन्तको अनुसन्धानमा जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न आग्रह गर्दैै प्रचण्ड र नेपालले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।