काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति पदमा नेपाली कांग्रेसले दाबी गर्न उचित नहुने बताएका छन्। राष्ट्रपति लगायत राज्यका प्रमुख अङ्गहरू कार्यकारी सरकारका पक्षमा समन्वय र सहकार्य गर्ने पदहरू भएको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रतिपक्षले राज्यका प्रमुख अङ्गको नेतृत्व गर्न नमिल्ने बताएका हुन्।

उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति भन्नुको अर्थ राज्यका प्रमुख अङ्गका पदहरू सत्ता पक्षका लागि आवश्यक पद भएकाले सत्तापक्षले अगाडि सार्ने उम्मेदवारमा सबैको सहमति खोजौं भन्न खोजिएको बताए। प्रदेश–१ को नेकपा ९एमाले० प्रदेश कमिटी बैठकमा सहभागी हुन आइतबार विराटनगर पुगेका महासचिव पोखरेलले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी नदिई सहयोग गर्छ भन्ने हाम्रो बुझाई र विश्वास हो भने।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै महासचिव पोखरेलले राष्ट्रपतिको उम्मेदवार नेकपा एमालेको मात्र नभई सत्ता पक्षको हुने र प्रदेश तथा केन्द्रका सांसदहरू मतदाता रहेको निर्वाचनमा सत्तापक्षको सुनिश्चित बहुमत रहेकाले सत्तापक्षले हार्ने र प्रतिपक्षले जित्ने भन्ने कल्पना पनि गर्न नसकिने बताए।

कांग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता सिर्जना गर्ने प्रयास गर्छ, अहिले राष्ट्रपतिको दावी पनि त्यही भएको महासचिव पोखरेलको भनाई छ। उनले भने– राज्यका प्रमुख पदहरूमा दाबी गर्ने हो भने कांग्रेसले कि त आफूलाई सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्छ, उसले आफूलाई सत्तापक्ष भन्न सकेको छैन। कानुनले उसलाई प्रतिपक्ष मान्दैन तर प्रतिपक्षका लागि निवेदन दिएको छ। कांग्रेसको आफ्नो माग र चरित्रमा अन्तर देखिएको छ।

एक अर्को जिज्ञासामा महासचिव पोखरेलले न्यायालय निष्पक्ष हुनुपर्छ, न्याय निष्पक्ष देखिनुपर्छ, कुनै विषयमा अतिरिक्त चासो र कुनैमा उदासिनता हुनुहुँदैन भने।