प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपले फैलिएपछि गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको हो। यो समिटमा भाग लिनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो। तर, कार्यक्रम सुरु हुनुभन्दा केही दिनअघि मात्रै कार्यक्रम स्थगित भएको हो।
भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिदै गएपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए।
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८७ हजार २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै यसको संक्रमणबाट गत २४ घण्टामा ६० जनाले ज्यान गुमाएका छन्। उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ४५२ रहेको छ।
भारतमा हाल २ लाख ८० हजार बढी सक्रिय संक्रमित छन्। हालसम्म भारतमा कोरोनाबाट ४ लाख ८२ हजार बढीले ज्यान गुमाइसकेका छन्।
फेसबुक पेज Like गर्नुहोस