काठमाडौं,एजेन्सी - फिफा विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ ।

खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे ।

यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले देश निकाला गर्नुपर्ने दिउँसोदेखि नै बताएको थियो ।

स्थगित खेलको नयाँ मिति तोकिएको छैन ।