काठमाडौं - नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आज इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्दै छ । नेपाली समयअनुसार राति सवा १० बजे इराकको अल्फाहया रंगशाला खेल शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलको तयारी गर्न नेपाली टिम इराक पुगेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध खेल आफ्नो टोलीका लागि पहिलो परिक्षण रहेको बताएका छन् । खेलको पूर्वसन्ध्यामा बोल्दै उनले नतिजा भन्दा खेलाडीको प्रदर्शनलाई आफुले महत्व दिने बताएका छन् । अब्दुल्लाहको नेतृत्वमा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

इराक नेपालभन्दा निकै बलियो टिम हो । फिफा वरियतामा नेपाल भन्दा १०३ स्थानमाथि रहेको छ । नेपाल फिफा वरियता १७१औं स्थानमा छ भने इराक ६८औ स्थानमा रहेको छ ।

विश्व कप छनोटको तयारीमा रहेको इराक आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ । अहिले सम्म नेपाल र इराकबीच ३ खेल भएका छन्, जसमा तिनै खेलमा नेपालले हार बेहोरेको छ ।

इराकसँगको खेलेपछि नेपाल जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । जसमा जुन ३ मा चाइनिज ताइपेइविरुद्ध, जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ ।

नेपाल अहिलेसम्म खेलेका ५ खेलमा १ जित र ४ हारसहित ३ अंक मात्र जोडेको छ । समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०–१० अंक रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ ।