काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत संयुक्त हिन्दु मोर्चाबीच शनिबार १३ बुँदे सहमति भएको छ ।

धनुषा जिल्ला प्रशासन कार्यालय परिसरमा भएको वार्तापछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गर्दै मोर्चाले आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको घोषणा गरेको हो।

सहमतिको सबैभन्दा महत्वपूर्ण बुँदाअनुसार नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत छलफल प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। यस विषयमा स्पष्ट समयसीमा तोकेर आवश्यक राजनीतिक संवाद सुरु गर्ने सहमति भएको जनाइएको छ।

यस्तै, धार्मिक सद्भाव कायम राख्न चाडपर्वका अवसरमा हातहतियार प्रदर्शन गर्ने कार्य नियन्त्रण गर्ने, धार्मिक स्थलमा बाहिरी लाउडस्पिकरको प्रयोग नियमन गर्ने तथा धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गरी विदेशी नागरिकको विवरण सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्ने सहमति भएको छ।

सामाजिक सञ्जालमार्फत धार्मिक, साम्प्रदायिक वा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही गर्ने, देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूका मुद्दाको पुनरावलोकन गर्ने, कानुनी प्रक्रिया पूरा गरी आवश्यक व्यक्तिलाई रिहा गर्ने तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउने बुँदासमेत सहमतिमा समेटिएका छन्।

त्यसैगरी धार्मिक आयोगहरूको औचित्य र कानुनी आधार पुनरावलोकन गर्ने, आन्दोलनमा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्ने, २०६२/६३ सालयता प्रदान गरिएका नागरिकताको छानबिन गर्ने, मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थामा प्राप्त हुने विभिन्न फन्डको अनुगमन तथा नियमन गर्ने र आवश्यक कारबाही अघि बढाउने विषयमा पनि सहमति भएको छ।

सहमतिमा १२ वर्षीय आनन्द दासको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्ने, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख गरिएको छ।