काठमाडौं - सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ।

आज विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषयहरू संशोधन विना नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो।विज्ञप्तिमा भनिएको छ- ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ।’

नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ। उता यातायात व्यवस्था विभागले भने असोज १ गतेदेखि प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन दिइएको छ ।

गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।